२९ भदाै, काठमाडौं ।
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई विश्व वरियतामा सुधार गरेको छ । आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।
नेपालको ८ खेलमा २ सय ८८ प्वाइन्ट र ३६ रेटिङ अंक छ । नेपाल उक्लदा ओमान भने खस्किएको छ । ओमान एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ ।
नेपालभन्दा अघि स्कटल्यान्ड १४ औं, जिम्बावे १३ औं, आयरल्यान्ड १२ औं र नेदरल्यान्ड्स ११ औं स्थानमा छ । नेपाल भन्दापछि यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं र पपुपा न्युगिनी २० औं स्थानमा छन् । न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।
ओमान भ्रमणमा रहेको नेपालले लगातार तीन खेलमा जित निकालेपछि ओडिआई वरियतामा सुधार गरेको हो । नेपालले पपुवा न्युगिनीसँगको दुई ओडिआई सिरिज २–० ले जितेको थियो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आज ओमानसँग खेल्दै छ ।