एमालेले भन्याे- सरकारले प्रतिपक्षमाथि दोष थुपारेर वित्तीय संकट सिर्जना गर्न खोज्यो

एमालेले भन्याे- सरकारले प्रतिपक्षमाथि दोष थुपारेर वित्तीय संकट सिर्जना गर्न खोज्यो

३० भदाै, काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टीका कारणले बजेट कार्यान्वयनमा ढिलाई नभई राजनीतिक द्वन्द्वका कारणले भएको बताएकाे छ । महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्तिमार्फत  सरकारले प्रतिनिधि सभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि थोपर्ने र मुलुकलाई वित्तीय संकट सिर्जना गर्ने ‘सुतुरमुर्ग चाल’ चलेको बताएका हुन् ।

गत जेठ १५ गते तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको थियो । आज बुधबारसम्म सो अध्यादेश संघीय संसदबाट पारित भइसक्नु पर्ने भए पनि हुन नसक्दा मुलुकमा आर्थिक संकट पर्ने देखिएकाे हो ।

महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राजनीतिक द्वन्द्वका कारणले बजेट निर्माण र कार्यान्वयनमा ढिलाई हुँदा राज्य सञ्चालनमा समस्या उत्पन्न भएको हो, कानुनी व्यवस्थाअनुरुप बजेट अध्यादेशलाई संसदमा प्रस्तुत गरी पारित गर्नुपर्दथ्यो । तर सरकारले प्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ ।”

दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनुपूर्व नै प्रतिपक्षी दलका सांसदहरूमाथि गरिएको कारवाहीको सूचना प्रकाशित नगरी दल विभाजनलाई प्रोत्साहन दिने काम सभामुखको तर्फबाट भएको उनले आरोप लगाएका छन् ।

आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेकाे पनि महासचिव पोखरेलले बताएका छन् । “प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.