विराटनगर,असार ३२
जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष पुगे पनि विराटनगर महानगरपालिकाले कुनै परिवर्तनको महसुस नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले महानगरपालिकाका प्रमुख भीम पराजुलीको ध्यानाकर्षण गराउँदै आईतबार ज्ञापनपत्र बुझाएको छ ।
महानगरपालिकामा पुगेको नेपाल कम्युनिष्ट पार्टी विराटनगर समितिले करको दायरा बढाएको, विकास निर्माणमा उल्लेख्य प्रगति नगरेको र नगरबासीले धूलो तथा हिलोका कारण सास्ती पाइरहेको भन्दै पराजुलीको ध्यानाकर्षण गराएको हो । प्रमुख पराजुलीलाई ज्ञापनपत्र पेश गर्दै नेकपाकी नेतृ नमिता न्यौपानेले अवैज्ञानिक र अवैध तरिकाले करमा अस्वभाविक वृद्धि गरेको बताईन् ।
न्यौपानेले अनावश्यक कर्मचारी भर्ना गरेको, महँगो प्रशासन सञ्चालन गर्ने र अनावश्यक कोटेशन आव्हान गरिएको पनि बताए । ज्ञापनपत्र बुझाउँदै नेकपा विराटनगरका नेता सागर थापाले महानगरपालिका प्रमुख भीम पराजुलीले एकलौटी १ सय ५० वटाभन्दा बढी टेण्डर वडामार्फत नगरेर आफैंले हचुवाको भरमा आव्हान गरेको आरोप लगाए । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख पराजुलीले करको दर वृद्धि स्वभाविक भएको बताए ।
अन्य नगरपालिका, महानगरपालिकाको भन्दा विराटनगरमा करको दर कम रहेको दाबी गर्दै पराजुलीले आफूले सुशासन कायम राख्न र विराटनगरलाई समृद्ध बनाउन प्रतिबद्ध भएर काम गरिरहेको पनि बताए । ज्ञापनपत्रमा आफूहरुको माग सुनुवाई नभए र अवैध, औचित्यहीन तथा जनताको ढाड सेक्ने प्रकारका जनविरोधी कर वृद्धिको निर्णय फिर्ता लिन चेनावनीसमेत दिइएको छ ।
आफूहरुको माग साउन महिनाको ७ गतेभित्रमा पूरा नभए क्रमबद्ध रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गरी सशक्त आन्दोलन गर्ने नेकपाकी नेतृ न्यौपानेले जानकारी दिईन ।