२ असाेज, काठमाडाैँ।
श्रीलंका ओपनर ब्याट्सम्यान दीलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।
विराटनगरले शनिबार दिलशानलाई चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय दिलशानले श्रीलंकाका लागि १३ टी-२० अन्तर्राष्ट्रिय र २ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।
टि२० आई खेलमा उनले एक अर्धशतक सहित कुल २ सय १५ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ५३ रन छ । उनीमा १ सय १२ लिष्ट ए र १ सय २७ टि२० आई खेलको अनुभव छ । ओडिआईमा २०१७ मा भारतविरुद्ध अगष्टमा डेब्यू गरेका थिए । तर राम्रो प्रदर्शन गर्न नसक्दा पुन मौका पाएनन् । टि२० आईमा २०१२ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए ।
यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका बलर रयानखान पठान र वेस्टइन्डिजका शीर्षक्रमका ब्याट्सम्यान हेमराज चन्द्रपाउललाई अनुबन्ध गरेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । २०१७ अर्थातको उपाधि विराटनगर वारियर्सले जितेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका कप्तान पारस खड्काले इपिएल खेल्ने वा नखेल्ने अनिश्चित छ । विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी, सोनु देवकोटा लगायतका खेलाडी छन् ।