४ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफूहरुको पार्टी विस्तारै एमालेकरण हुन थालेको बताएका छन्।
सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले छलछाम, झुट, गुट,धोका दिने लगायको विशेषता एमालेको रहेको र त्यस्तै गुण आफूहरुको पार्टीमा सरेको भन्दै एकीकृत माओवादी एमालेकरण हुन लागेको बताए।
’छलछाम, धोका चाँही आफू दिने र अरुलाई सजिलाई धोकेवाज भन्छन् एमालेहरु’ प्रचण्डले भने ,’ पद प्रतिष्ठा, निष्ठालाई पोलेर खानेको जमात रहेछ त्यहाँ।’
माधव नेपालको पक्षमा रहेर पार्टी विभाजनमा सहभागी नभएका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका १० जनाले जाली, फटाह, धोका दिन सिएकाएको प्रचण्डको भनाइ थियो। ’१० जनाको टिमले हो सिकाएको। दरोसँग टेक्नुस् भनेर भन्नु भयो, पछि आत्मसमर्पण गर्नुभयो’ उनले भने।
माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु ठिक बाटोमा हिँड्ने प्रयत्न गरिरहेको र आफूहरुले त्यहाँ सहयोग गरिरहेको प्रचण्डले बताए। ’ झलनाथ, माधव जस्ता पुराना साथीहरु ठिकै ट्रयाकमा अघि बढ्न प्रयत्न गरिरहेका छन्। हामीले त्यहाँ पनि सहयोग गरेका छौं’ प्रचण्डले भने।
एमाले विचारविहीन पार्टी बनेको आरोप प्रचण्डको थियो।
’विचार भनेनि सिद्धान्त भनेपनि एमालेमा सूर्य र मदनभण्डारी छन्’ उनले भने, ’हामी पनि त्यस्तै हुने हौ कि भन्ने चिन्ता लागेको छ। माओवादी बस् सकियो। हामीलाई केही केहीले खाओवादी भन्न थालेका छन्। माओवादी भन्या लोगो जस्तो भयौं जरुरी प¥यो भने प्रचण्ड पनि भन्ने।’
उनले माओवादीले परिवर्तन र क्रान्तिको नेतृत्व गरेकोले जनतामा अझै आशा रहेको बताए। अन्य दलहरु भन्दा आफूहरु फरक रहेको र त्यसका लागि नेता कार्यकर्ता गम्भीर बन्नुपर्ने उनको भनाइ थियो। अन्य दलजस्तै व्यवहार हुने हो भने माओवादीको औचित्य नभएको र पार्टी विघटनको कुरा गरेको उनले बताए।
’न्यायका निम्ति लड्ने योद्धा हुन् भनेर जनताले भन्नुपर्नेमा त्यसो हुन सकेको छैन,’ प्रचण्डले भने, ’यही स्थित रह्यो भने पार्टी नभएपनि के हुन्छ र? पार्टी सिद्धयाइदिउँ भन्न खोजेको होइन। सबैले सोचौं नत्र औचित्य सकिन्छ भन्न खोजेको हो।’