५ असोज, काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिटको सुनुवाइ आज (मंगलबार) हुने भएको छ।
सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको उक्त मुद्दा ’हेर्दा हेर्दै’ मा राखिएको थियो। आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ।
उक्त मुद्दामा अन्तरिम आदेश जारी भएमा माधवकुमार नेपालसहित १४ सांसदले प्रतिनिधि सभामा भाग लिन नपाउने पनि हुन सक्छ। त्यस्तै सभामुख अग्निप्रसाद सापकोटामाथि पनि प्रश्न उठ्नेछ भने एकीकृत समाजवादीको वैधानिकतामाथि पनि प्रश्न उठ्नेछ।
सोमबार निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरे पनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेकाले मुद्दा हेर्दा हेर्दैमा राखिएको हो।
बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए।
अधिवक्ताहरु बाबुराम दाहाल, रमेश वडाल, महेश न्यौपाने, रविनारायण खनाल, ईश्वरी भट्टराईलगायतले एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानुनी भएको बताएका थिए।
माधव नेपालसहित १४ जना विरुद्धको मुद्दाको कुनै औचित्य नभएको विपक्षी तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाको जिकिर थियो।