रत्नपार्कमा बसेर बाँडेजस्तो ह्वारह्वार पदक वितरण गरियो : केपी ओली

रत्नपार्कमा बसेर बाँडेजस्तो ह्वारह्वार पदक वितरण गरियो : केपी ओली

५ असाेज, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सरकारले पदक वितरण गर्न सार्वजनिक गरेकाे सूचीप्रति व्यंग्य गरेका छन्। मंगलबार रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दूल’ नामको पुस्तक सार्वजनिक कार्यक्रममा उनले रत्नपार्कमा बसेर बाँडेजस्तो ह्वारह्वार पदक वितरण गरिएको बताए।

उनले भने, ‘अस्तिको दिन वितरण गरेको जस्तो पदकहरु हामीले वितरण गरेको भए! अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ। कसले खारेज गर्ने? बहस गर्ने वकिललाई पनि वितरण गरिएको छ, कसले बहस गर्ने? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरिदिएको छ। ती पनि चुपचाप र दंग। कसले बोल्ने? ‘

ओलीले पदक वितरण गरेर सबैतिर ढ्याकढ्याक्ती ढोका थुनिएको बताए। उनले भने, ‘कतैबाट आवाज नआओस्। कतैबाट विरोधको स्वर नआओस्। कतैबाट उज्यालो नछिरोस्। सबै कुरा अन्धकार अन्धकारमा चलाउने। विरोधी नै रहेनन्, हामीलाई कुनै टाउको दुखेको होइन। यति धेरै पदकहरु त कहिले पनि बाँडिएको थिएन होला।’

उनले आफू प्रधानमन्त्री भएको बेलामा यसरी पदक वितरण गरिएको भए बुद्धिजीवीहरु, नागरिक समाजले के भन्थ्यो भन्दै अहिले भने सबै चुपचाप बसेको पनि बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.