६ असोज, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार तीन दिने अमेरिका भ्रमणमा जाँदैछन् जहाँ उनी अमेरिकी राष्ट्रपति जो बिडेनलाई भेटेर अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री योशिहिदे सुगासँग क्वाड शिखर सम्मेलनमा भाग लिनेछन्।
भ्रमणको अन्तिम चरणमा उनले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने छन्।
मोदीले मंगलबार एक कार्यक्रमबीच हालसालै घोषित अष्ट्रेलिया–यूके–अमेरिका अर्थात ओकस रक्षा सम्झौताबारे बोलेका छन् । पहिलो पटक सो रक्षा सम्झौताबारे मोदी सरकार बोलेको हो ।
मोदीले ओकस रक्षा सम्झौतासँग भारतको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । तर, उनले सो सम्झौताले चीन र फ्रान्सलाई धेरै क्रोधित बनाएको बताएका छन् । विवादबाट बच्न मोदीले यस सम्झौताबाट भारतलाई टाढा राख्ने कोसिस गरिरहेका छन् ।
हालसालै भएको सो सम्झौतामा अस्ट्रेलियालाई आणविक उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने भनिएको छ ।