गुमनाम गच्छदारले पत्रकार समेलन गरेर के भने ?

गुमनाम गच्छदारले पत्रकार समेलन गरेर के भने ?

६ असाेज, काठमाडाैँ ।

ललिता निवास जग्गा प्रकरणमा अदालतमा धरौटीमा छुटेपछि गुमनाम रहेका नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति गच्छदारले आफूमाथि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाउनु असान्र्दभिक रहेको बताएका हुन् ।

उनले प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने गुरुयोजना आफू मन्त्री हुनुभन्दा अगाडीदेखि नै प्रारम्भ भएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार प्रक्रिया अगाडी बढाइ मन्त्रीपरिषद्ले सामुहिक निर्णय गरेको भएपनि आफूलाई पूर्वाग्रही रुपमा भ्रष्टाचारको मुद्धा चलाइएको बताए । उनले आफुमाथि लगाइएको भ्रष्टाचारको मुद्धा प्रतिशोधपूर्ण रहेको पनि बताए । उनले भने – ‘प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरुको निवास बिस्तार गर्ने नेपाल सरकारको गुरुयोजना मैले भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिला देखि नै प्रारम्भ भएको हो । उक्त गुरु योजना मेरो निर्देशन र निर्णयले बनेको होइन । सो गुरुयोजना कार्यान्वयन गर्न तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालज्यूको निर्देशानुसार प्रक्रिया अगाडी बढेकोमा तह तह हुँदै म सम्म आएको टिप्पणी बमोजिमको प्रस्ताव उपर निर्णय हुनको लागि मैले मन्त्रीपरिषद्मा प्रस्ताव पेश सम्म गरेको हुँ । उक्त प्रस्ताव मन्त्रीपरिषद्बाट सर्वसम्मत रुपमा पारित भै कार्यान्वयन अगाडी बढेको हो । यस्तो मन्त्रीपरिषद्को सामुहिक निर्णयको विषयमा विभागिय मन्त्रीको हैसियतले प्रस्तावसम्म पेश गर्ने म उपर मात्रै मुद्धा चलाइएको तथ्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म उपर पूर्वाग्रह राखेको प्रमाणित गर्दछ । मैले व्यक्तिगत रुपमा लाभ लिनु वा नेपाल सरकारलाई हानी पु¥याएको अवस्था नभएकोले सरकारको गुरुयोजना कार्यान्वयन गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पेश गर्ने सम्मको कार्य कदापी भ्रष्टाचारजन्य कार्य हुन सक्दैन ।’


नेपाली कांग्रेसमा गच्छदारको छुट्टै गुट

उपसभापति गच्छदारले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने स्पष्ट पारे । उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सौहार्दपूर्ण वातावरणमा मिलेर अगाडी बढ्नको निम्ति आफूले भुमिका निर्वाह गरेको बताए । आफू नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनको निम्ति कांग्रेससँग एकिकरण गरेको भन्दै उनले कुनैपनि गुट वा समुहको पक्षमा वकालत नगर्ने बताए । उनले भने – ‘अधिवेशन स्वस्थ प्रतिस्पर्धात्मक आधारमा त्यो अधिवेशन सम्पन्न होस् । लोकतान्त्रिक, विधि प्रक्रियाबाट विधि विधानबाट महाधिवेशन सम्पन्न होस् भन्ने मेरो चाहाना छ । मेरो इच्छा र मैले त्यसमा निरन्तर नेताहरुलाई धेरै ठुलो मतभेदको विचमा यो अधिवेशन अगाडी बढिराखेको भएपनि मेरो समाजस्यता गरेर सौहार्दपूर्ण बातावरणमा नेताहरुको बीचमा स्वस्थ प्रतिस्पर्धा गरेर अधिवेशन सम्पन्न होस् । म आफ्नो भुमिका गर्दैछु । मैले पार्टी एकिरण गरेर नेपाली कांग्रेसको संगठनलाई बल पु¥याउने उद्देश्यले आएको छु, मैले तत्काल अहिले कुनै गुट, कुनै ग्रुप, कुनै नेताको पक्षमा पनि मैले वकालत गरेको छैन । पार्टी राम्रो होस् । नेताहरु मिलेर गर्नुस् भनेर म एकता र मेलमिलापकै आधारमा पार्टीको महाधिवेशन सम्पन्न हुनुपर्छ । सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनुपर्छ भनेर मेरो भित्री आंकाक्षा छ । कुनै गुट र ग्रुपलाई भन्दापनि नेपाली कांग्रेसलाई बलियो बनाउन आएको हुनाले म नेपाली कांग्रेसकै पक्षमा उभिएको छु । जहाँसम्म मेरो प्रतिस्पर्धा गर्ने कुरा छ । नेपाली कांग्रेसको सभापतिको पदको लागि मेरो कुनै प्रतिस्पर्धा अहिले छैन । म सभापतिको उम्मेदवार होइन । नेपाली कांग्रेसको केन्द्रीय सभापतिको पदमा प्रतिस्पर्धा गर्ने मैले कुनै सोचाई राखेको छैन । म छुट्टै अस्तित्वमा रहेको पार्टीलाई नेपाली कांग्रेसमा एकीकरण गरेको हुनाले नेपाली कांग्रेसको लागि म एउटा सबैको साझा व्यक्ति बन्न सक्छु । नेपाली कांग्रेसलाई मजबुद गर्नको लागि त्यसमानेमा सबै गुटको समर्थन प्राप्त गरेर म नेपाली कांग्रेसको कुनैपनि पदमा म स्वीकार्य हुनेछु भन्ने मलाई पुरा विश्वास छ ।’

उपसभापति गच्छदारले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष मुद्दा नचलाइ छानीछानी मुद्दा चलाइएको बताए । अरुलाई दलीय संरक्षण प्रदान गरी आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भएको पनि उनले उल्लेख गरे । उनले तत्कालीन कम्युनिष्ट सरकारले संवैधानिक निकायहरुलाई दबाबमा पारी प्रतिपक्षलाई तर्साउने षड्यन्त्रस्वरुप मुद्दा चलाएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.