७ असाेज, काठमाडाैँ ।
सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि सरकारले खर्च गर्ने बाटाे खुल्नेछ ।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । सो विधेयकलाई बिहीबार बसेको राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकले पारित गरेको हो ।
राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । सदनबाट पारित भएको विधेयकलाई सभामुखले आजै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने छन् ।
नेपालमा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएकाे र प्रतिस्थापन विधेयक पारित नभएका कारण सटडाउन निम्तिएको थियो ।

