७ असाेज, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई जता छोयो त्यतै पोल्ने टिप्पणी गरेका हुन् ।
ओलीले भने, ‘कस्तो सरकार आयो आयो । अचम्म लाग्छ । सिस्नुजस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ ।’
आफ्नो नेतृत्वको सरकार थप दुई वर्ष टिकेको भए अन्य पार्टीहरुको ‘सटर बन्द हुने’ दावी उनले गरे । उनले भने, ‘हाम्रो एमालेको सरकार दुई वर्ष टिकेको भए विचराहरूको राजनीतिको सटर बन्द हुन्थ्यो । घ्यार्र सटर तान्नुहुन्थ्यो । त्यसैकारण हटाउनुपरो ।’
ओलीले आफ्नो सरकारले विकासको लहर ल्याएको बताउँदै भने, ‘हामीले राजमार्गै राजमार्ग बनायौं, धरहरा उठायौं, रानीपोखरी बनायौं । अब हामीले बनाइदिएको नयाँ घरमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्दैछन् । एकपटक ताली बजाउनुस् न । उहाँले रिवन काट्नु्हनेछ, बत्ती बाल्नुहुनेछ । हामीले तार जोडिदिएका छौं, उहाँले प्लग ठ्याक्क थिच्नुहुनेछ । मलाई खुसी लाग्छ ।’