७ असाेज, काठमाडाैँ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ताको दुरूपयोग गरिरहेको बताएका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारले आफ्नो स्वार्थको लागि सयंन्त्रहरूकै दुरूपयोग गरेको जनाए।
ओलीले भने, ‘हाम्रो राजनीति झमेलाको राजनीति हैन। अर्काको कार्यालय कब्जा गर्न जाने हैन। सत्ताको दुरूपयोग गर्न जाने हैन। प्रहरी संयन्त्रको दुरूपयोग गर्ने हैन । अहिलेको सरकारले प्रहरीलाई कति अप्ठेरो पारिदिएको छ भने अह्राएपछि ड्युटी गर्दिनँ भन्न पनि भएन। यो गर भनेको छ हैन भने दुर्गममा सरूवा गर्दिन्छु भनेको छ। यस्तो छ सरकार।’
उनले प्रहरी र शिक्षकहरूलाई सरकारले आफूले भनेअनुसार काम गर्न भन्ने र नमाने दुर्गम क्षेत्रमा सरूवा गरिदिने धम्की दिएको बताए। उनले सरकारमा रहेकाहरूमा अलकति पनि मानवीयता नभएको आरोप लगाउँदै भने, ‘शिक्षकलाई आफूतिर लाग्छस् कि सरूवा गरूम भनेर दुर्गममा सरूवा गर्छ। यिनीहरूमा त मन पनि छैन। यिनीहरूको छातीमा मुटु हैन ढुंगा राखेको छ।’