धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?

७ असोज ७८, शुक्रबार

काठमाडौं: काठमाडौं कपनस्थित साततले, पाथीभरा टोलकी ६० वर्षीया धनमाया विश्वकर्मा घरभित्र रुँदै एकोहोरो स्वरमा पति मंगलेलाई भन्दै थिइन्, ‘नातिलाई खोजेर ल्याउनुस् । सास बाँकी छैन भने लास भए पनि लिएर आउनुस् ।’

धनमायाको यस्तो आग्रहसँगै उनका दुई छोरी मोबाइलमा १० वर्षीय भदाको फोटो हेर्दै भक्कानिन्छन्। कोलाहलको स्थिति समाल्न नसकेर मंगले खाटबाट जुरुक्क उठेर घर बाहिर निस्कन्छन् । घरपारि बगिरहेको वाग्मती खोलाको किनारमा पुगेर टोलाउन थाल्छन् ।

कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो । काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन् ।

ठूलो वर्षा भएकाले ढल भरिभराउ थियो । उज्ज्वल ढलमा खसेर बेपत्ता भएपछि हजुरबुवा मंगले, हजुरआमा धनमाया र दुई फुपू अनिता र सुनिताको आँसु रोकिन सकेको छैन । ९ वर्षअघि छोरा–बुहारी आआफ्नो बाटो लागेपछि मंगले, धनमाया, अनिता र सुनिताले उज्ज्वलको हेरचाह गर्दै आएका थिए । ‘हाम्रो बुढेसकालको सहारा नाति कहिल्यै नफर्किने गरी गयो,’ भावुक हुँदै धनमायाले भनिन्, ‘यसको जिम्मेवारी कसले लिन्छ ?’

उज्ज्वल ढलमा खसे लगत्तै वरपरका मानिस उद्धारमा लागे पनि भेट्टाउन सकेनन् । बुढानीलकण्ठ नगरपालिका–१२, कपनको मिलन चोकमा खुद्रा पसल सञ्चालन गरिरहेका शम्भु थापाले मुसलधारे वर्षा भएपछि रमाउँदै आइरहेका उज्ज्वल मुख नछोपिएको ढलमा खसेर बेपत्ता भएको बताए । ‘ती बाबु वर्षा भएपछि रमाउँदै आइरहेका थिए,’ थापाले भने, ‘उनलाई देखेपछि परिचित दाइ चिच्याएको सुनेर ढलमा पर्नबाट जोगाउन दौडिँदै थियौं ।

आँखा झिमिक्क गर्न नपाउँदै ती बाबु ढलमा खसे । हामी पुग्दा उनी बेपत्ता भइसकेका थिए ।’ उनीहरूले करिब साढे आठ बजेतिर प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी घटनाबारे खबर दिएका थिए । प्रहरी र स्थानीयले राति ११ बजेसम्म खोजी गरे पनि उज्ज्वल फेला परेनन् ।

‘कपन क्षेत्रको बाटो बिग्रिएको चार वर्ष भइसकेको छ,’ थापाले भने, ‘केही महिनाअघि ढल राखेको क्षेत्रमा ढलान गर्ने काम भइरहेको थियो । वर्षायाममा काम हुन नसकेपछि त्यो ढल नछोपी धराप पारेर छाडिएको थियो । स्थानीय तहलाई जानकारी गराउँदा बेवास्ता गरेपछि हामीले ढलको मुख बाँसले घेरिदिएका थियौं ।

मुसलधारे वर्षासँगै आएको बाढीले सबै बगायो ।’ थापाका अनुसार काठमाडौं–६ र बुढानीलकण्ठ–१२ लाई जोड्न खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन ह्युम पाइप राखिएको थियो । वर्षायाममा ढलको पानी घरभित्र पस्ने गरेको उनले बताए । उज्ज्वलको परिवारले खहरे खोला हुँदै सात तलेको पाथीभरा टोल फर्कने क्रममा उनी बेपत्ता भएको जनाउँदै बुधबार महानगरीय प्रहरी प्रभाग कपनमा जाहेरी दिएको छ ।

महानगरीय प्रहरी प्रभाग कपन र सामाखुसीस्थित विपद् व्यवस्थापनबाट १३ जनाको प्रहरी टोलीले बुधबार र बिहीबार उज्ज्वलको खोजी गरे पनि फेला नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी गराएका छन् ।

‘ढलमा खसेर बेपत्ता भएका बालकको खोजी गरिरहेका छौं, उनले भने, ‘छिर्न मिल्ने ढलदेखि धोबीखोलासम्म पुगेर हेरे पनि उनी फेला परेका छैनन्। गत सातादेखि कपनको खरिबोटस्थित फुपू अनिता कोइरालाको घरमा बसिरहेका उज्ज्वल हजुरबुवासँग साततलेमा रहेको घरमा फर्कंदै थिए।

मुलसधारे वर्षा भएपछि हजुरबुवा मंगले बाटोमा ओत लागेर बसे भने उज्ज्वल रमाउँदै घरतर्फ लम्किए । मंगले घर आइपुग्दा नाति उज्ज्वल घर पुगेका थिएनन् । छिमेकतिर गयो भनेर मंगले सुते । उज्ज्वल बुधबार बिहानसम्म पनि घर नआएपछि मंगले आत्तिए ।

उज्ज्वल नभेटिएपछि फुपू अनिताले प्रहरीमा जाहेरी दिएकी थिइन् । अघिल्लो राति एक बालक ढलमा खसेर बेपत्ता भएको उद्धारमा खटिएकाले बुधबार बताएपछि पाएपछि बल्ल मंगलेको परिवार झस्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार ढलमा खसेर बेपत्ता हुने तिनै मंगलेका नाति उज्ज्वल थिए ।

फुपू अनिताका अनुसार घरछेउको स्कुलमा कक्षा २ मा अध्ययनरत उज्ज्वलका बुबाआमा दुवै छैनन् । ‘आमा (हजुरआमा), बुवा (हजुरबुवा) र मैलै उसको हेरचाह गर्दै आएका थियौं,’ उनले भनिन्, ‘एक सातादेखि उज्ज्वल मसँगै थियो । बुबा र उज्ज्वल मंगलबार राति मेरो होटलमा खाना खाएर घर फर्किनुभएको थियो ।

उज्ज्वल बेपत्ता भएको प्रहरीमा जाहेरी दिएलगत्तै ऊजस्तै हुलिया भएको बालक ढलमा खसेको कुरा सुनेर होस उडेको छ ।’ बुढानीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार सो सडक खण्डमा ढलानको काम सिँचाइ विभागले गर्दै आएको थियो । ‘गत वर्ष बजेट परे पनि सिँचाइ विभागले काम पूरा गर्न सकेको छैन । नगरपालिकासँग समन्वय गर्न पनि विभागले मान्दैन । दुर्घटना भएपछि मात्र सबैले चाल पाउँछन् ।’

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकामा ४८ जना बाटोमा धराप पारेर राखेको खाल्डो र ढलमा परिसकेका छन् । तीमध्ये १४ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार सडक विकास निर्माणको काम गर्दा सावधानी नअपनाउँदा सर्वसाधारण खाल्डोमा खस्ने गरेका छन् ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top