८ असाेज, काठमाडाैँ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ । दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिए ।
साे रेल दुई सेट रेल २०७७ असोज २ गते भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरेर जनकपुर ल्याइएकाे थियाे । सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर राखिएको छ ।
खरिद गरेको एक वर्ष पुरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताए । रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठिकै देखिन्छ भन्दै महाप्रबन्धक झाले थपे, ‘कानुन अभावमा रेल सञ्चालन हुन सकेको छैन । कानुन आएपछि प्राविधिक टोलीलाई बोलाई रेल सञ्चालनमा ल्याइने छ ।”
खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको र खियासमेत लाग्न थालेको स्थानिय बताउँछन् । वारेन्टी अवधिमा इन्जिन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आएमा निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ । परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नुपर्ने, मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनुपर्ने निर्माण कम्पनीको भनाई छ ।