चाडपर्व नजिकिएसँगै जुम्लामा अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै जुम्लामा अनुगमन तीव्र

११ असोज, जुम्ला ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न ठाउँमा बजार अनुगमनलाई तीव्रता दिएको छ। नजिकिँदै गरेका दशैँ–तिहारलगायतका चाडपर्वलाई लक्षित गरी बजारमा म्याद गुज्रिएका सामानहरू बिक्री वितरण हुने अवस्थालाई ध्यान दिँदै जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईको अगुवाइमा अनुगमनलाई तीव्रता दिइएको हो ।

शनिबार र आइतबार जुम्लाको सिँजा क्षेत्रमा रहेका खुद्रा पसल र होटल अनुगमन गरिएको छ । अनुगमनका क्रममा कनकासुन्दरी गाउँपालिकाको गुठीजिउलोमा रहेको पसलबाट म्याद गुज्रिएका समान जफत गर्नुका साथै व्यापारीलाई सचेतसमेत गराइएको छ ।

सिँजा गाउँपालिकाको नराकोट बजार, हिमा गाउँपालिकाको कालिखा खेतुमा रहेका खुद्रा पसलबाट पनि म्याद गुज्रिएका सामानहरू फेला परेको बताइएको छ ।

चाडपर्वका बेला ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरू बिक्री वितरणका लागि आएका हुनाले अनुगमनलाई तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख अमितभूषण सुमनले बताए । उनले भने, ’अनुगमनका क्रममा धेरै पसलहरू म्याद गुज्रिएका सामग्रीहरू जफत गरिएको छ ।

चाडवाडका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने,कालोबजारी गर्ने, अस्वस्थ खाद्य वस्तुको बिक्री वितरण गर्ने गुनासाहरू आउन नदिन दशैँ सुरु हुनुभन्दा अघि नै जुम्ला प्रशासनको समन्वय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको आयोजनामा अनुगमन तीव्र पारिएको हो ।’

उनका अनुसार खुद्रा पसल, खाद्य पसल, मासु पसलहरूमा समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा वेसन, बिस्कुट, सुर्ती, क्यान जुस, मिठाई मासु, कोकाकोलालागयतका अस्वस्थ खाद्य वस्तु नष्ट गरिएको छ ।

एक लाख १९ हजार रुपैयाँ बराबरका सामान नष्ट

शनिबार र आइतबार गरिएको सिँजा क्षेत्रको बजार अनुगमनबाट जफत गरिएका ३७ हजार ४८० रुपैयाँ बराबरका म्याद गुज्रिएका अखाद्य वस्तुसमेत गरी एक लाख १९ हजार रुपैयाँ बराबरका समान जफत गरिएको र ती सामान नष्ट गरिएको सुमनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.