१३ असोज, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री भएपछि उहाँले सर्वदलीय बैठक बोलाउनुभएको छैन, यो नै पहिलो हो । त्यस्तो खास एजेण्डा छैन । तर, सबैको कुरा सुनौं भन्ने हिसाबले बैठक बोलाइएको हो । अहिले संसद्मा जारी अवरोध खुलाउने विषय नै प्रमुख एजेण्डा हो ।’
नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पुर्याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् । बैठकमा त्यसबाहेक संसद्को एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।