१४ असोज, काठमाडौं ।
दशैँ सुरु हुनै लाग्दा बाढी पहिरोका कारण बन्द भएका देशभरका ५ सडक खण्ड अझै खुल्न सकेको छैनन् ।
डुम्रे–बेसीसहर–चामे सडक खण्ड लामो समयदेखि बन्द छ । गएको असार एक गते मनाङको धारापानी र बगरछापमा मर्स्याङ्दी नदीले कटान गरेपछि बन्द भएको यो सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।
नदीले सडकको धेरै ठाउँ नै कटान गरेकाले खुलाउन समस्या भएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार यो सडक खण्ड दशैँसम्ममा सञ्चालनमा आउने सम्भावना कम छ। दशैँसम्ममा समेत सञ्चालनमा आउन नसक्ने भएपछि यो सडक खण्ड भएर आवतजावत गर्ने यात्रु भने समस्यामा परेका छन् ।
खाद्यान्न ढुवानीदेखि आवतजावतमा समेत समस्या भएको छ । यस्तै गएको असार एक गतेदेखि नै बन्द भएको गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड भने मर्मतको काम भइरहेको इञ्जिनियर सन्तराम पाण्डेले जानकारी दिए ।
अबको एक हप्ताभित्रमा यो सडक खण्ड सञ्चालमा आउने गरी काम भइरहेको उनले जानकारी दिए । यस्तै बझाङको खोड्पे–चैनपुर सडक खण्ड पनि बन्द लामो देखि बन्द छ । यो सडक खण्ड पनि मर्मतको पहल भइरहेको सडक विभागले जनाएको छ ।
देशभरका अन्य एक सय ३१ सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन् । बन्द रहेका र एकतर्फी मात्रै सञ्चालनमा रहेका सडकलाई दशैँसम्ममा खुलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।
दशैँमा यात्रा गर्ने यात्रुको आवतजावत सहज पार्नका लागि र कुनै कारण बस सडक बन्द भएमा आधा घण्टाभित्र खोल्ने गरी जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको पनि विभागले जनाएको छ ।