ठेकेदारको कारण विद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ

१३ असोज ७८, बिहीबार

१४ असोज, रसुवा ।

ठेकेदार कम्पनीको कारण टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ भएको छ ।

उपकरण जडानको जिम्मा लिने भोइथ इण्डिया नामक भारतीय कम्पनीले सम्झौताबमोजिम काम अगाडि नबढाइ आलटाल गर्दा विद्युत्गृहमा जडान गर्नुपर्ने कुनै पनि उपकरण जडान हुन सकेको छैन ।

Advertisement

सम्झौताको शर्तअनुसार गत चैतबाटै कार्यारम्भ गर्नुपर्नेमा कोभिड सङ्क्रमणलगायत विभिन्न बहाना गरी महत्वपूर्ण जिम्मेवारी लिने भोइथ इण्डिया कम्पनीलाई आफूले बारम्बार ताकेता गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैरेले जानकारी दिए।

ठेक्का प्रक्रियाबाट उपकरण आयात एवं जडान खर्चसमेत करिब रु दुई अर्ब ६० करोडमा कार्य सम्पन्न गर्ने शर्तका साथ उक्त कम्पनीले काम जिम्मा लिएको थियो ।

Advertisement

एक सय ११ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृहमा उपकरण जडान गर्न एक वर्षको समय लाग्ने र हालसम्म ५० प्रतिशत प्रगति हासिल गरी सक्नुपर्ने अवस्थामा कामको जिम्मा लिने कम्पनी नै गैरजिम्मेवार हुँदा उत्पादनमा ढिलाइ हुने अवस्था सिर्जना भएको प्राविधिक बताउँछन् ।

विद्युत्गृहमा जडान हुने उपकरण भने आयोजनास्थलमा भण्डारण भइसकेको र सो कम्पनीले दक्ष प्राविधिक उपलब्ध गराउना साथ काम अगाडि बढ्ने अवस्था रहेको बताइएको छ ।

आगामी वर्ष असारको पहिलो हप्ताभित्र राष्ट्रिय प्रसारण लाइनमा विद्युत् प्रवाह गर्ने लक्ष्य रहेको अवस्थामा भोइथ इण्डिया कम्पनी बाधक बन्न पुगेको बताइएको छ ।

रसुवागढी जलविद्युत् आयोजनाको सम्झौता र कार्यादेशबमोजिम विद्युत् उपकरण जडान नगर्ने ठेकेदार कम्पनीलाई शर्तका प्रावधानअनुरूप कडा कारबाहीको प्रक्रिया अगाडि बढाउन लागिएको आयोजना प्रमुख गैरेले जानकारी दिए। आयोजनाको संरचना भूमिगत भएकाले उपकरण जडान गर्न गराउन भारी वर्षा बाढीपहिराजस्ता प्राकृतिक प्रकोपले कुनै असर नगर्ने आयोजनाले स्पष्ट पारेको छ ।

सन् २०१३ बाट निर्माण चरणमा अगाडि बढेको सो आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि भौगोलिक विकटतालगायत विविध कारणले चार वर्ष बितिसकेको छ ।

ढिलाइका कारण भने तत्कालीन अवस्थामा पेट्रोलियम पर्दाथको अभाव, भूकम्पको असर, वर्षैंपिच्छे राजमार्गमा पहिरो जाँदा सामान ढुवानीमा समस्या, भूकम्पपछि सर्च टैंक जाने सहायक मार्गमा गएको पहिरो, भोटेकोशीमा बेलाबेला आउने बाढीजस्ता असरले निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

रसुवागढी नजिक भोटेकोशीको बाँध बाध्ने कामका साथै चार हजार १२५ मिटरको हेडरेस सुरुङ, विद्युत्गृहलगायतका संरचना तयार भइसकेका र बाँकी सर्च टैंकको काम भने भित्री भागबाट अगाडि बढाइएको छ ।

विसं २०७२ मा गएको भूकम्पको असरले सर्च टैंक क्षेत्रको बाहिरी भागको पौच मार्गमा पहिरो गई असहज परिस्थिति उत्पन्न भएपछि भित्री भागबाट निर्माण कार्य अगाडि बढाइएको हो ।

यस्तै यस वर्षको बर्सात्ले आयोजनास्थल जाने पहुँच मार्गमा क्षति पु¥याएको र भोटेकोशीमा पानीको बहाव अत्यधिक बढ्न गई टेलरेस सुरूङबाट पानीभित्र पस्दा विद्युत्गृह स्थलमा लेदो पस्दा सफा गर्न लामो समय खर्चिनुपरेको बताइएको छ ।

निर्माण चरणअन्तर्गत बाहिरी भागमा केही असहजता आए पनि कार्य सम्पन्न भएपछि विद्युत् संरचनामा बाढी, पहिरो, चट्याङजस्ता कुनै पनि प्राकृतिक प्रकोपले असर नगर्ने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top