ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन राष्ट्रपतिको आह्वान

१४ असोज ७८, शुक्रबार

१५ असाेज, काठमाडौं।

Advertisement

३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनको लागि शुभकामना व्यक्त गरेकी छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि आजको दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।

Advertisement

यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि संयुक्त राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।

तीव्र रूपमा विकसित भइरहेको विद्युतीय प्रविधिको माध्यमबाट ज्येष्ठ नागरिकको जीवनलाई सरल र सम्मानित बनाउन हामीले गर्ने थप मिहिनेतले मात्र यो अभियान सार्थक हुन सक्दछ ।

Advertisement

कोभिड-१९ महामारीको बीचमा पनि नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीय तहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लगायत विभिन्न संघ संस्थाले विद्युतीय प्रविधिको प्रयोगबाट ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेकोमा राष्ट्रपतिले खुसी व्यक्त गरेकी छन् ।

ज्येष्ठ नागरिकहरू आफ्नो जीवनकालभरिका अनेकन उतार–चढाव‚ सफलता–असफलता र संघर्षपूर्ण भोगाईबाट आर्जन गरिएका ज्ञान, सिप र अनुभवका पुञ्ज हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्ने पनि राष्ट्रपतिले भण्डारीले उल्लेख गरेकी छन् ।

विगत करिब दुई वर्षदेखि सम्पूर्ण विश्‍वलाई नै आक्रान्त बनाएको कोभिड-१९ महामारी विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा महामारीबाट पूर्ण मुक्ति नपाएसम्म जनस्वास्थ्यका मापदण्डहरू पालना गरिरहन सम्बद्ध सबैमा राष्ट्रपति भण्डारीले आग्रह गरेकी छन्।

राष्ट्रपति भण्डारीले पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा राख्दै ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गरेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top