१५ असोज, काठमाडौं ।
संसारको सातौं अग्लो आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् ।
काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् ।
सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए ।
’धवलागिरि हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्’, उनले भनीन् , ’धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।’
श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताइन् । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गएको वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।