२३ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुन:एकीकरण गर्ने प्रतिज्ञा गरेका छन् । राजतन्त्र अन्त्य भएको ११० औं वार्षिकोत्सवमा अवसरमा शनिबार बेइजिङमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।
सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुन:एकीकरणको मार्ग पछ्याउने बताएका छन् । चीनको पुन:एकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको पनि उनको भनाइ थियो । स्वतन्त्र ताइवान बनाउन चाहने शक्तिप्रति संकेत गर्दे सीले भने, ‘आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दु:खद अन्त्य हुनेछ ।’
राष्ट्रपतिले सीले हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुन: एकीकरण गर्न चाहेको पनि बताए । तर उक्त प्रणालीलाई ताइवानले विरोध गर्दै आएको छ ।
सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र ‘बाह्य हस्तक्षेप’ अस्वीकार्य हुने पनि प्रस्ट पारे । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।
राष्ट्रपति सीले यसअघि सन् २०१९ मा ताइवानसँग सम्बन्ध सुधार भएको ४०औं वर्षगाँठ का अवसरमा पनि दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक देश दुई प्रणाली नीतिमा चीन प्रतिबद्ध रहेको बताएका थिए ।
