भारतसँग नेपाल १–० ले पराजित, फाइनल पुग्ने सम्भावना कायमै

Share this
817shares

२५ असाेज, काठमाडौं।

Advertisement

जारी साफ च्याम्पियनसिपको तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भारतसँग पराजित भएको छ । खेलको अन्त्यतिर सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल १–० ले पराजित हुन पुगेको थियो ।

खेलको सुरुवातदेखि नै नेपालले भारतलाई बल पोसेसनमा कुनै दबाब दिएन । आक्रमणलाई निस्तेज पार्न नै व्यस्त देखिएको नेपाली रणनीति खेलको अन्त्यसम्म पनि कायम रहेको थियो । नेपालले काउन्टरमा केहि अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न भने सकेन । यता भारतले सिर्जना गरेको केहि आक्रमणमा भने डिफेन्स लाइन र कप्तान किरण बाधक बने ।

Advertisement

खेलको पहिलो हाफ गोलरहित सकिएको थियो। अन्तिम ८ मिनेट नेपालले रोक्न नसक्दा गोल हुन पुगेको हो। भारतलाई जिताउने कप्तान सुनिल क्षेत्रीले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए। उनले फरुख चौधरीको हेड पासको सदूपयोग गर्दै गोल गरेका हुन्।

नेपालले खेलमा पछि परेपछि भने आक्रमणमा जोड दिएको थियो । ८६ औं मिनेटमा अन्जनको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै भारतका गोलरक्षक गुरप्रितले बचाउ गर्दै भारतको खतरा टारे । ९० औं मिनेटमा सुमन अर्यालको पासमा आयुष घलान बलसम्म पुग्न सकेनन् ।

Advertisement

प्रशिक्षक अलमुताइरीले केहि रक्षात्मक रणनीति अपनाउँदै मनिष डाँगीलाई एकल फरवार्डको रुपमा उतारेका थिए। उनलाई सुमन लामा र सुजल श्रेष्ठले विंगमा साथ दिए । त्यस्तै मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटीको जोडी थियो । डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, दीनेश राजवंशी, गौतम श्रेष्ठ र सुमन अर्याल रहंदा गोलरक्षकमा कप्तान किरण चेम्जोङ खेलेका थिए ।

यस हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । ३ खेलमा समान ६ अंक बोकेको माल्दिभ्स नेपालसँग हेड टु हेड नतिजाका कारण दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्नेछ । नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । बराबरीले माल्दिभ्स फाइनल पुग्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top