२५ असोज, धनगढी ।
अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
पञ्चदेवल विनायक नगरपालिका–१ मा जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पुष्टि गरेको छ ।
उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको जनाइएकाे छ । दुर्घटनामा परेर घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । चालकको पहिचान हुन नसकेको र खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।