विराटनगर, साउन १३
विराटनगरको प्रसिद्ध रथयात्राको तयारी अघि बढाइएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिको विराटनगरमा भएको छलफलका क्रममा रथयात्राका लागि तयारी थालिएको जानकारी दिइएको हो । समितिले रथयात्रालाई सफल बनाउन बाबुराजा ओझाको अध्यक्षतामा विभिन्न १९ वटा उपसमिति बनाइएको छ ।
विराटनगरमा बर्षेनी श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा रथयात्रा हुने गर्छ । लाखौं भक्तजन सहभागी हुने रथयात्राले विराटनगर बजार परिक्रमा गर्ने गर्छ । यसपटकको रथयात्रा भदौ १८ गते सोमवारका दिन हुने भएको छ ।
राधाकृष्ण मन्दिरको स्थापना भएको वि .स .१९८८ देखि विराटनगरमा विधिवतरूपमा रथयात्रा सुरुआत भएको जानकार दधिराज सुवेदी बताउँछन् । यो धार्मिक अनुुष्ठानलाई २०२५ सालदेखि विशेष र भव्य बनाउन थालिएको हो ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले रथयात्रालाई भव्य बनाउन विराटनगर महानगर आबश्यक सहयोग गर्न तयार रहेको बताए । छलफलमा प्रहरी बरिष्ठ उपरिक्षक इश्वर बावु कार्की,जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक मनोज कुमार केशी ,प्रहरी उपरिक्षक आभुषण तिम्सिना ,पूर्व प्रशासक रामप्रसाद खतिवडा ,समाजसेवी शिबदत्त भट्टराई,पं भबानी शंकर निरौला,जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवकुमार पोखरेल लगायतको सहभागिता रहेको थियो ।
रथयात्रालाई सफल बनाउन विभिन्न क्षेत्रवाट सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ । यो रथ यात्रामा वर्षेनि नेपाल तथा विभिन्न छिमेकी मुलुकबाट सहभागीता जनाउन लाखौँ भक्त जनहरु आउने गरेका छन् । रथ यात्राका दिन रथको डोरी तान्न वा छुन मात्र पाउँदा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।
रथ याता तिनपैनि स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर गोल्छा चोक, जलजला मोड, ट्राफिक चोक, महेन्द्र चौक, विजुली अफिस, मुनालपथ र बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुने गरेको छ ।
गत वर्ष साउन अन्तिम साता आएको बाढीका कारण सडक विग्रिएको हुनाले मन्दिरबाट निस्किएर गोल्छा चोक, जलजला मोड, ट्राफिक चोक, महेन्द्र चौक सम्म मात्र आईपुगर सोही रुटबाट फर्किएको थियो ।