पाँच महिना पछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

२४ असोज ७८, सोमबार

२५ असोज, म्याग्दी ।

Advertisement

बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन्।

वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए। त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन्।

Advertisement

यहाँका स्थानीय तहले सडक खुलाउने प्रयास गरे पनि लगातार भइरहेको वर्षाले पटकपटक अवरुद्ध हुँदै आएका सडक वर्षा रोकिएपछि दसैँको मुखैमा बल्ल खुल्न थालेका हुन्।

स्थानीय तहले डोजर, स्काभेटरको प्रयोग गरेर सडक खुलाएको हो। वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दसैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए। नगर पािलकाका सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेको बेनी नगरपालिकाले जनाएको छ।

Advertisement

पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाले चाडपर्व मान्न गाउँ फर्केका नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। रघुगङ्गा गाउँपालिकाले पनि पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ।

“केही दिनयता ग्रामीण सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ, दसैँमा घर जान नागरिकलाई कुनै दुःख हुँदैन”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

अवरुद्ध भएका ग्रामीण सडकसँगै बेनी–दरबाङ सडकखण्डमा पनि कुनै समस्या नभएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उनको भनाइ छ। कठिन भूगोल भएका धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाका प्रायः सबै सडक सञ्चालनमा आइसकेका स्थानीय

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाभित्रका सडक पनि सञ्चालनमा आउन थालेका गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए। पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

उता बेनी–जोमसोम सडकखण्ड पनि केही दिनयता नियमितरुपमा सञ्चालनमा छ। अघिल्लो साता काभ्रेभिर पहिरो गएपछि तीन दिनसम्म सडक अवरुद्ध भएको थियो।

त्यहाँको सडक मर्मत गरेर यातायात सञ्चालन गरिएसँगै अहिले सो सडकखण्डमा कुनै समस्या नभएको स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए।

त्यसैगरी बेनी–रत्नेचौर–बागलु, बागलु–रत्नेचौर–भकुण्डे, बेनी–मालढुङ्गा, बेनी–लभ्लीहिल–भकुण्डे, बेनी–बगरफाँट–बरङ्जा, बेनी–पुलाचौरलगायतका सडक पनि सञ्चालनमा आएका स्थानीय जनप्रतिनिधिले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top