३० असाेज, काठमाडौं ।
माइतीघर मण्डलामा आमरण अनसनरत रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । नौं दिनदेखि आमरण अनसनरत उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो ।
बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए । उनीहरु बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बझु्दो नभएको भन्दै काठमाडौं आए लगतै प्रहरीले रुबीलाई पक्राउ गरेर वहुविवाहको मुद्दामा फसाउन खोजेको थियो ।
सर्वोच्च अदालतले भने रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन् । सास फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनले अस्पताल लगिएको जनाइएको छ ।
अस्पताल जानु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुबीले अहिले पनि आन्दोलनरत आफूहरुको परिवारलाई धम्की आइरहेको बताएकी छन् । उनले भनिन्, ‘आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी होस् र झुटा मुद्दामा नफसाइयोस् ।’
रुबीले दुबै घटनाको यथाशीघ्र छानबिन गर्न तथा अभियुक्तहरुलाई संरक्षण गरेको आरोप लागेका बाँकेका एसपी र डीएसपीलाई विभागीय कारबाही गर्न माग समेत गरेकी छन् ।