सरकारी कार्यालय खुलेः उपत्यकामा चहलपहल बढ्यो

३१ असोज ७८, सोमबार

३१ असाेज, काठमाडाैँ ।
बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन्। राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ।

Advertisement

आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ। दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन्। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ। सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो।

विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालय पुगेर नियमित काममा व्यस्त रहेको उनका स्वकीय सचिव रामजी थापाले बताए। अन्य विभागीय मन्त्री पनि नियमित काममा व्यस्त भएका छन्।

Advertisement

दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ। विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ।

काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लोरूपमा देखिएको छ। उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन्।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ। बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ।

दसैँ मनाउन गाउँघर गएका सर्वसाधरण पनि धमाधम काठमाडौँ भित्रिरहेका छन्। कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दसैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ। मानिवसको चहलपहल र सवारीसाधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले राजधानी काठमाडौँ पुरानै लयमा फर्कन थालेको अनुभूति हुन्छ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top