१ कात्तिक, एजेन्सी ।
अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर रुसी चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो ।
चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए ।
नेपाली समय अनुसार आइतबार बिहान ७ बजे अन्तरिक्षबाट फर्किएर काजकिस्तानमा अवतरण गरेकाे उक्त टाेलीका सबै सदस्यहरु सुरक्षित रहेको बताइएको छ । तिनै जनालाई रुसी हेलिकप्टरबाट काजकिस्तानको कारागान्डा शहरमा पुर्याइएको छ । त्यहाँ विश्राम गरेपछि उनीहरुलाई रुसको स्टार सिटीमा चेकजाँचका लागि लगिनेछ ।
पेरेसिल्ड र शिपेंको चलचित्र छायांकनका लागि अक्टुबर ५ मा आईएसएसमा पुगेका थिए । एक अन्तरिक्ष यात्रीको ज्यान बचाउनका लागि अन्तरराष्ट्रिय स्पेश स्टेशनमा उडान भर्ने एक महिला डाक्टरको कथामा यो चलचित्र निर्माण गरिएको जनाइएकाे छ ।









