२ कात्तिक, एजेन्सी ।
श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको श्रीलंकाले सोमबार राती आबूधाबीमा भएकाे खेफमा नामिबियालाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
जितको लागि ९७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १३.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका जितमा मध्यक्रमका ब्याटर भानुका राजपक्षे २७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४२ रनमा अविजित रहे । अविष्का फ्रनान्डो २८ बलमा २ छक्का सहित ३० रनमा अविजित रहे । पाथुन निसंका र दीनेश चान्डिमल ५–५ रनमा आउट भए । कुशल परेरा ११ रनमा क्याच आउट भएका थिए । नामिबिया जेजे स्मित, रुबेन ट्रम्पेलम्यान र बर्नार्ड शोल्ट्ज़ले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबिया १९.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । नामिबिया क्रेग विलियम्सले ३६ बलमा २ छक्का सहित सर्वाधिक २९ रनको योगदान दिए । कप्तान गेरहार्ड इरास्मसले १९ बलमा २ चौका सहित २० रन बनाए । जेजे स्मित १२ रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाले टि२० विश्वकपमा डेब्यू गरेको हो ।
श्रीलंका स्पिनर महेक थेक्शानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगा र लाहिरु कुमाराले २–२ विकेट लिए । चामिका करुणारत्ने र दुश्मन्था चामिराले १–१ विकेट लिए ।
समूह ए को पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको थियो । श्रीलंकाले बुधबार आयरल्यान्डसँग खेल्नेछ । नामिबियाले बुधबारनै नेदरल्यान्ड्सँग खेल्नेछ ।