आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

२ कात्तिक ७८, बुधबार

२ कात्तिक, दमौली।

तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो । कोरोना कहरका कारण प्रभावित भएका यहाँका होटल व्यवसायी आन्तरिक पर्यटकको चहलपहल बढेपछि आशावादी देखिएका छन् । कोरोना कहरका कारण दुई वर्षदेखि बन्दिपुरको पर्यटन प्रभावित भएको थियो । दसैँको फूलपातीदेखि बन्दिपुरमा आन्तरिक पर्यटनमा वृद्धि भएको बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए ।

“दसैँ बिदाका कारण बन्दिपुरमा यतिबेला आन्तरिक पर्यटकको भीडभाड छ,” उहाँले भने “होटल पनि भरिभराउ छन् ।”कोरोनाका कारण सुस्ताएको बन्दिपुरको होटल व्यवसायीमा अहिले आशा पलाएको पौडेलले बताए। “दुई वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,” उहाँले भन्नुभयो, “यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ । ” उनका अनुसार फूलपातीको दिनदेखि दैनिक सयाैं पर्यटक बन्दिपुर आएका छन् ।

Advertisement

होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । “होटल भरिभराउ छन्, कोठा नपाएर फर्किने पनि छन्,” उनले भने, “कोरोनाले व्यवसाय सुस्ताएको छ, अब विस्तारै व्यवसायले गति लिनेमा आशावादी छौं ।” चाडपर्वमा घुम्ने संस्कृतिको विकास भएकाले दसैँमा आन्तरिक पर्यटक बन्दिपुर भ्रमणका लागि आएको उहाँले जानकारी दिए ।

“अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका छन्, कोरोना कहरले घुम्न नपाएका कारण पनि अहिले मानिस घुम्न थाले,” उनले भने । गुरुङका अनुसार बन्दिपुरमा अहिले बास बस्नेको सङ्ख्या एक हजारभन्दा बढी छन् । “घुम्न मात्रै आउनेको सङ्ख्या पनि अत्यधिक छ, बन्दिपुरका होटलको क्षमता अनुसार बास बस्नेको सङ्ख्याले होटल भरिएको छ,” उनले भने।

Advertisement

बन्दिपुरका होटल व्यवसायीले छुट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी छ । बटन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । १८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top