५ कात्तिक, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ । शुक्रबार बसेकाे प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।
शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने सहमती भएकाे नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए ।
शुक्रबारको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेशसभासमक्ष विश्वासको मत माग्नेछन् । त्यसपछि मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा दलीय प्रतिनिधित्वको आधारमा नेताहरुले धारणा राख्नेछन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्य प्रदेश सभामा अल्पमतमा छन् । आचार्यको पद जाने लगभग निश्चित भएसँगै विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।