विराटनगर, साउन १६
श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउन लागेको बताएका छन् । विराटनगरमा आयोजित युवा उद्यमशिलता र रोजगारीका अवसरहरु बिषयक प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बिष्टले समृद्ध नेपाल र सुखी नेपाली अभियानका साथ अघि बढिरहेको सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउन लागेको बताए ।
उनले योगदानमा आधारित सामाजिक सुरक्षाको नामले ल्याउन लागिएको कार्यक्रम श्रमिकवर्गको हितमा रहेको बताए । मन्त्री विष्टले कुनै श्रमिक दुर्घटनामा परे कार्यक्रम अन्तरगत उपचार गराउनुका साथै जुनसुकै कारणले रोजगार छाड्ने अवस्था आए ६ महिनासम्म पारिश्रमिकको न्युनतम प्रतिसत उपलब्ध गराइने बताए । यस्ता अन्य थुप्रै सुविधाहरु समेटेर योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने तयारी गरिरहेको उनको भनाई थियो ।
मन्त्री बिष्टले बैंक खाताबाट पारिश्रमिक दिनुपर्ने नियमले हालै गरिएको श्रमिकको न्युनतम पारिश्रमिक बृद्धिको निर्णयलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सघाउ पुग्ने बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा युवाहरुसँग सुझाव संकलनगर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बोल्ने युवाहरुले कार्यक्रम ल्याउदा सहज नितिका साथ ल्याइनुपर्ने सुझाव दिएका थिए ।
उनिहरुले श्रमको सम्मान गर्ने वातावरण विकास गर्न समेत सरकारले बिषेश पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, जिल्ला युवा परिषद मोरङ र नेपाल युवा उद्यमी मञ्चले संयुक्तरुपमा आयोजना गरेका थिए ।