८ कात्तिक, महोत्तरी।
महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मत गणनामा विजयी भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्षका लागि पुनः मत गणना हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका हुन् ।
०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनको परिणाम २०७४ असोज ८ गते प्रकाशित भएको थियो । जसमा राजपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट चौधरी निर्वाचित भएका थिए ।
पछि नेपाली कांग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतको फैसलामा भएको पुनः मत गणनामा राय दुई मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार रायले २६८ मत ल्याउँदा चौधरी २६६ मत मात्रै ल्याए ।
निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वी रहेका राय अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो ।
पुनः मतगणनापछि निर्वाचित वडाध्यक्ष रायले उच्च अदालत जनकपुरले न्याय दिएकोमा धन्यवाद ज्ञापन गरे । उनले भने, ‘कांग्रेस नेता र तत्कालीन निर्वाचन अधिकारीले धाँधली गरेका थिए । आज ढिलै भएपनि सत्यको जित भयो । खुशी लागेको छ ।’