८ कात्तिक, एजेन्सी ।
सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गरेकाे छ । क्याम्प नोउमा डिफेन्डर डेभिड अलाबा र लुकास भाज्क्वेजले गोल गरेपछि रियलले बार्सिलोनाकै मैदानमा २–१ काे जित निकालेको हो ।
जितसँगै २० अंकका साथ रियल ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा समान २० अंक जोडेका सेभिल्ला दोस्रो र रियल सोसिडाड तेस्रो स्थानमा छ । हारपछि १५ अंकका साथ बार्सिलोना आठौं स्थानमा झरेको छ ।
काउन्टर एट्याकमा ३२ औं मिनेटमा रोड्रिगोले उपलब्ध गराएको पासलाई शक्तिशाली प्रहारमार्फत अलाबाले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए ।
भाज्क्वेजले ९ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै रियलको जित पक्का गरे । खेलको अन्तिम समयमा बार्सिलोनाका सर्जियो अगुएरोले गोल गरेपनि रियल जित दर्ता गर्न सफल रहयो ।