१० कात्तिक, काठमाडौं ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग एक मतले राजीनामा माग्ने निर्णय गरेको छ । मंगलबार बसेको बार एसोसिएसनको बैठकले प्रधानन्यायाधीशले सहज निकास नदिए देशैभर चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए ।
नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको महासचिव लीलामणि पौड्यालले जानकारी दिए ।
बैठकले न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि आलोचना गरेको छ । त्यस्तै, नेपाल बारले संविधान संशोधनको विषय पनि उठाएको छ ।
संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको सहभागिता, संसदीय सुनुवाइमार्फत न्यायाधीशको नियुक्ति लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने नेपाल बारको ठहर रहेको पौड्यालले जानकारी दिए ।
‘प्रधानन्यायाधीशज्यू निरन्तर रुपमा एक पछि अर्को विवादमा तानिनुभएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आइ स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकोले अब उप्रान्त उहाँबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने र यस विषम र विकराल परिस्थितिलाई समाधान गरि सबैको विश्वास जितेर समस्या समाधान गर्न असफल र असक्षम भइसक्नु भएकोले वर्तमान गतिरोधको अन्त्य गरि सहज निकास दिन सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराज्यूले अविलम्ब राजीनामा दिइ मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेबाएको सल्लाहकार समितिको वैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/०५ गतेदेखिको निरन्तर बैठकको निर्णय अनुसार उहाँलाई पदत्याग गर्न आव्हान गर्दछौं,’ बारका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको भेटघाटमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन अस्वीकार गरेका थिए ।