काष्ठमण्डप पुनःनिर्माण यहि महिनाभित्रै सम्पन्न हुने

काष्ठमण्डप पुनःनिर्माण यहि महिनाभित्रै सम्पन्न हुने

१० कार्तिक, काठमाडौं ।

ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही महिनाभित्र पूरा हुने भएको छ।

दशैंअघि नै सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको थियो। अब जस्तोसुकै अवस्था आए पनि यही कात्तिक मसान्तसम्म भने सबै काम सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ।

अहिले ९८ प्रतिशत काम सम्पन्न भएको छ। यही महिनाको अन्त्यसम्ममा काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ। काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ। केही अवरोध नआए ढुक्कसँग यही कात्तिक महिनाभित्र काम सम्पन्न हुने उनले बताए।

२०७२ साल वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो। पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो। निर्माणका लागि कामपाले हालसम्ममा ११ करोड ५० लाख दिइसकेको छ।

पुनःनिर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो। काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो।

गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा. यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो।

पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ। प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो। (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.