राजेन्द्र पाण्डे बागमतीकाे मुख्यमन्त्री बन्दै, आजै चार सदस्यीय मन्त्रिमण्डल गठन हुने

राजेन्द्र पाण्डे बागमतीकाे मुख्यमन्त्री बन्दै, आजै चार सदस्यीय मन्त्रिमण्डल गठन हुने

१० कात्तिक, काठमाडौँ।

बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी भएको छ । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीबाट राजीनामापछि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे साँझसम्म मुख्यमन्त्रीमा नियुक्ति हुने र आजै सपथ ग्रहणको कार्यक्रम रहेको नेताहरुले जानकारी दिएका छन् ।

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले हिजो प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा दिएकी थिइन् । प्रदेश प्रमुखले शाक्यकाे राजीनामा स्वीकृत गर्दै आज दिउँसो ३ बजेसम्म दलहरुलाई सरकार गठनका लागि दावी पेस गर्न बुधबार साँझ नै आव्हान गरेका थिए ।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाका सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेस गर्न आव्हान गरेका छन् ।

प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आव्हान भए लगत्तै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दावी गर्दै प्रदेश प्रमुखसमक्ष पुगेका थिए ।

गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका छन् ।

हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ । बहुमतसहित अर्का प्रदेश सभा सदस्यको दावी नभएमा प्रदेश प्रमुखले पाण्डेलाई बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त र सपथ गराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार चार सदस्यीय मन्त्रिमण्डल बन्नेभएको छ । पाण्डेले गठबन्धनमा रहेका दलहरुको सहभागितामा मन्त्रिमण्डल बन्ने जानकारी दिएका छन् । पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित गठबन्धनमा रहेका दलहरुको उपनेताहरु रहेको मन्त्रिमण्डल बन्ने छ ।

मन्त्रिमण्डलमा नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान, नेपाली काँग्रेसको कृष्णलाल भँडेल र नेकपा (एकीकृत समाजवादी) कृष्णप्रसाद खनाल शर्मा सहभागी हुने जनाइएकाे छ। खनाल यसअघि शाक्य नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री बनेको एक सातामा नै एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी रोज्दै मन्त्रीबाट राजीनामा दिएका थिए।

माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, काँग्रेसले भौतिक पूर्वाधार मन्त्रालय वा स्वास्थ्य मन्त्रालय र एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ ।

पाण्डेले तिहारपछि मन्त्रिमण्डल विस्तार हुने र गठबन्धनको सरकार भएकाले आवश्यकता अनुसार मन्त्रालय विभाजन गरी भागबण्डा गरिने बताए । उनले मन्त्रिमण्डल विस्तारपछि विश्वासको मत लिने, सरकारको नीति तथा कार्यक्रम ल्याउने र तत्काल गर्नुपर्ने साझा कार्यक्रमहरु ल्याइने योजना रहेको सुनाए ।

प्रदेश सभामा प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.