११ कात्तिक, एजेन्सी ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वका लागि चिरपरिचित चर्चित अनुहार हुन्। जति विश्वभर उनका प्रशंक र समर्थक छन् त्यति नैउनका आलोचक रहेका छन् । यसको एक मात्र कारण उनको स्वभाव र राष्ट्रप्रतिको दृष्टिकोण हो ।
दोस्रो कार्यकालका लागि सन् २०२० को राष्ट्रपतीय चुनावमा जो बाइडेनसंग अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले हारे । यो हार उनका लागि जीवनकै सबैभन्दा ठूलो हार बन्न गयो । सजिलै कुनैपनि विषयमा हार मान्न तयार नहुने मुठी स्वभावका ट्रम्पले चुनाव हारे पनि सजिलै नतिजा स्विकारेनन् । मत गणनामा धाँधली भएको भन्दै उनले आफ्ना समर्थकलाई विरोधका लागि उक्साएनन् मात्र अदालतसम्म धाए । चुनावी परिणाम पल्टिएला र आफू ह्वाइट हाउसमै रहिरनका लागि उनले ठूल्लै प्रयत्न गरे । तर उनका सबै प्रयत्न असफल बने । अदालतले उनले भनेजस्तो चुनावमा धाँधली नभएको फैसला सुनाएपनि ट्रम्प र उनका समर्थकहरु चुप लागेर बसेनन् । ६ जनवरीमा ट्रम्पका समर्थकले अमेरिकी संसद् भवन क्यापिटल हिलमा इतिहासमै कंलकित हुने गरी दंगा गरे ।
ट्रम्पले सामाजिक सञ्जालबाट पनि आफ्ना विरोधीहरुलाई प्रहार जारी राखे । उनले सामाजिक संजालको फाइदा उठाए र गलत कार्यका लागि प्रयोग गरे । उनले सामाजिक संजालको दुरुपयोग गर्दै मानिसहरूलाई हिंसाका लागि भड्काइरहेको आरोप प्रविधिसम्बन्धी ठूला कम्पनीहरूले लगाए । त्यसपछि फेसबुक र ट्विटरले उनीमाथि प्रतिबन्ध लगाए । गुगलबाट त्यसअघि नै उनी निलम्बित थिए ।
यो घटना ट्रम्पका लागि झनै हसऋयै बन्यो । उनले गुगल, ट्विटर र फेसबुकविरुद्ध फ्लोरिडास्थित संघीय अदालतमा मुद्दा हाले । यो विषयमा पनि अदालतले उनको पक्षमा फैसला सुनाएन । सेन्सरसिप रोक्न आदेश मागिएको मुद्दामा अदालतले त्यस्तो खाले आदेश दिएन । अन्तयमा सबैतिरबाट पार नचलेपछि ट्रम्पले आफैले सामाजिक संजाल बनाउने उद्घोष गरे । नभन्दै अहिले ट्रम्प फेसबुक, ट्विटरलाई चुनौती दिन आफ्नै सोसल मिडिया प्लेटफर्म लञ्च गर्ने अन्तिम तयारीमा पुगिसकेका छन् ।
ट्रम्पको कम्पनीले ल्याउने सोसल मिडिया प्लेटफर्मको नाम ’ट्रुथ सोसल’ राखिएको छ । आफ्नो कम्पनी कथित उदार मिडिया संस्थाहरूका लागि प्रतिद्वन्द्वी हुने ट्रम्पको भनाइ छ । उनका अनुसार नयाँ एप आगामी वर्ष सर्वसाधारणका लागि खुला हुने छ । गत साता विज्ञप्ति जारी गर्दै ट्रम्पले भनेका थिए, ’हामी यस्तो संसारमा छौँ, जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ । र पनि तपाईंलाई मनपर्ने राष्ट्रपतिको मुख थुनिदिए ।’ द ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) ले अहिलेका उदारवादी मिडियाका माझ एक सामाजिक सञ्जाल ल्याउन लागेको बताएको छ । सिलिकन भ्यालीका ठूला टेक कम्पनीहरूविरुद्ध संघर्ष गर्ने योजनाका साथ काम गरिरहेको टीएमटीजीको भनाइ छ । ट्रम्पको समूहको दाबी छ, ’प्रविधिसम्बन्धी ठूला कम्पनीहरूले आफ्नो शक्तिको दुरुपयोग गरी अमेरिकामा विरोधका आवाजलाई दबाएका छन् ।’ ट्रम्प यो टीएमटीजीका अध्यक्ष हुनेछन् ।