१२ कात्तिक, पाेखरा ।
नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले तिनै तहको निर्वाचन एकै पटकमा गर्दा राष्ट्रको सम्पति जोगिने बताएका छन् । पार्टी कामको शिलशिलामा पोखरा पुग्नुभएको अध्यक्ष नेपालले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न सके खर्च कम हुने बताएका हुन् ।
उनले एकैपटक तिनै तहको निर्वाचन गराउन सके राष्ट्रको सम्पति जोगिने बताए । उनले भने – ‘मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला । यो सबै चुनाव एकैचोटी गरिदिनुपर्छ कि क्या हो लाग्छ । लोकल चुनाव, प्रदेश सभा, प्रतिनिधि सभाको चुनाव पनि । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पति पनि, निर्वाचनको खर्च पनि धेरै जोगिन्थ्यो होला । यसमा कुनै कानुनी अड्चन छ कि छैन थाहा छैन । तर मेरो दिमागमा के आइराछ भने एकचोटी एउटा चुनाव, अर्कोचोटी गर्दाखेरी धेरै खर्च हुँदोरहेछ । त्यसको कानुनी जटिलता केही छ कि, होइन भने त्यही बाटोमा किन नजाने भन्ने कुराहरु मलाइ लागेको छ ।’


