१६ कात्तिक, काठमाडाैँ ।
प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई बिस्तार गरिएको छ । विगतमा कोभिडको मात्रै जाँच हुँदै आएको प्रयोशालामा सर्ने र नसर्ने रोगहरुको जाँचको आवश्यक उपकरणहरु खरिद गरी प्रयोगशालालाई बिस्तार गरिएको हो ।
निजी प्रयोगशालमा जाने उपभोक्ताहरुलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । तर प्रदेश सरकारको आर्थिक सहयोगमा प्रयोगशालामा उपकरणहरु थप गर्दै जाँचको दायरालाई समेत फराकिलो बनाएपछि निजी प्रयोगशालामा महंगो रकम तिर्नुपर्ने बाध्यता हटेको हो ।
कार्यक्रममा बोल्दै समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताए । उनले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताए । उनले प्रयोगशालामा उपकरण थपिएसँगै जनताको स्वास्थ्य जाँचमा सहजता आउने बताए । मन्त्री साहले भने, ‘जसको लागि भइरहेको छ, त्यसको उपस्थिती छैन,यो आम जनताको लागि भइरहेको छ, प्रदेशमा स्वास्थ्य स्थिती बदल्ने सरकारको प्रयास हो, कोरोनाको कारणले २ साल यता धेरै कुरा हुन सकेन ।’
कार्यक्रममा बोल्दै प्रयोगशालाका निर्देशक श्रवण मिश्रले प्रयोगशालामा धेरै प्रकारको जाँच हुने र यसबाट जनतालाई धेरै सहयोग पुग्ने बताए ।उनले जनता प्रयोगशाला जाँचकै लागि भएपछि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । उनीहरुको लागि पैसा र समय दुबै वचत हुने बताए । निर्देशक मिश्रले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जे जँच गर्छ, यहाँ सबै किसिमको जाँच हुन्छ, प्रदेशमा पब्लिक हेल्थ राखेका छौँ, यसबाट जनतालाई धेरै सहयोग पुग्छ, पैसा र समय दुबै वचत हुन्छ, प्रदेश सरकारले पालिका स्तरसम्म नै यसको दायरा बढाउनुपर्छ ।’
उनले आफू प्रदेश सरकार र स्थानिय पालिका स्तर सम्ममा यसको दायरा बिस्तारमा लागेको बताउँदै दायरा बिस्तार भएसँगै सेवा प्रवाह हुने बताए ।