२२ कात्तिक, दमौली।
रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसी भैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् ।
व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा सिसी क्यामरा जडानका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन् । ३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न आवश्यक रहेकाले देउसी भैलोबाट रु ६२ हजार १०५ सङ्कलन भएको टोलका अध्यक्ष हविव खानले जानकारी दिए । “यस टोलमा सिसी क्यामरा जडान गर्न अति आवश्यक भइसकेको छ, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि सिसी क्यामरा आवश्यक छ”, उनले भने ।
बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्य लिएर आफूहरूले देउसीभैलो खेलेको टोलका सहसचिव विकल्प श्रेष्ठले बताए । टोलवासीको सल्लाह र सुझावले नै आफूहरूले सिसी क्यामेरा जडान गर्न देउसीभैलो खेल्ने निर्णय गरेको उनले जानकारी दिए। उनका अनुसार देउसी भैलोबाट सङ्कलन भएको रकममा थपथाप गरी सिसी क्यामरा खरिद गरिने छ ।
सामाजिक भावना राखेर आफूहरूले खेलेको देउसीभैलो कार्यक्रममा टोलवासीले मन खोलेर दान गरेकाले थप हौसला मिलेको संस्थाका सदस्य गौरी थापाले बताए । तिहारमा टोलले दमौली बजार क्षेत्रमा पहिलो पटक झिलिमिली बत्ती जडान गरेर चर्चा बटुलेको थियो ।