२३ कात्तिक, काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी)बारे भ्रम छरेको बताए । मंगलबार गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा भट्टराईले यस्तो धारणा राखेका हुन् ।
एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो । उनले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरे। उनले भने, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन् । त्यसाे भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि । अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो । अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन । अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो ।’
उनले पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान सुरु गरेका हुन् । यो अभियान कार्तिक २२ देखि मंसिर ३ गते सम्म संचालन हुने जनाइएकाे छ ।
अभियान अन्तरगत उनले गोरखाका सबै गाउँपालिका/नगरपालिकामा घरदैलो गर्नेछन् । अभियानका क्रममा भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको बताए ।