डेङ्गुका बिरामी बढ्दै

डेङ्गुका बिरामी बढ्दै

काठमाडौँ: गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका बिरामी देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका छन् । महाशाखाका अनुसार गत साउनयता काठमाडौँमा ३२ जना डेङ्गुका बिरामी देखिएका छन् । म्याग्दीमा २७, कैलालीमा २२, सङ्खुवासभामा ४९ जना डेङ्गुका बिरामी देखिएका छन् । महाशाखाको तथ्याङ्कअनुसार गत साउनदेखि २९० जनामा डेङ्गु पुष्टि भएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेङ्गु नियन्त्रण गर्न सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएको हुनाले पहिले घरबाट नष्ट गर्नुपर्ने बताउनुभयो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. पुनले टेकु अस्पतालमा ज्वरो आएका बिरामी आउने गरेको बताउनुभयो ।

डेङ्गुको मुख्य लक्षण उच्च ज्वरो आउनु हो । ज्वरो ५/७ दिनसम्म रहन सक्छ । डा. पुनका अनुसार टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने गर्दछ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जम्नेलगायतका लक्षण देखा पर्दछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले काठमाडौँ डेङ्गु फैलाउन सक्ने लामखुट्टे प्रशस्त मात्रामा पाइने गरेको जानकारी दिनुभयो । , याे समाचार गाेरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.