विराटनगर,साउन २१
भारत निर्यातहुने कृषि उपजको सूचिमा नेपाली गोलभेंडा नपरेको बहाना बनाएर निर्यातमा गरिएको अबरोधपछि धनकुटाका किसानले उत्पादन गरेको गोलभेंडा बारीमै कुहिन थालेको छ ।
गत बर्ष बोटबाटै प्रतिकिलो ६५ रुपैयाँसम्ममा बिक्रि भएको गोलभेंडा यो बर्ष तीन रुपैयाँमा पनि बिक्रि भएको छैन । ६ रोपनीमा खेती गरी उत्पादन गरेको गोलभेंडा बेचेर गएको बर्ष ७ लाख रुपैयाँ आम्दानी गरेका पल्टनबहादुर राईले यो सिजनमा मूल्य घटेर उत्पादन लागतनै नउठ्ने भएपछि राताम्मे पाकेका गोलभेंडा नटिपि बारीमै छाड्ेका छन ।
गोलभेडा बेचेर मलबीउ, बिषादीको मूल्य र मेहनत नै नउठेपछि पकेटक्षेत्र घोषित धनकुटाको आँखिसल्ला, पिप्ले, छिन्ताङ, बेलहरा र धनकुटा नगरक्षेत्रका किसान पिरोलिएका हुन् । करीब एकहजार पाँचसय हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट धनकुटामा हिउँद र बर्खामा २८ हजार ७ सय १५ मेट्रिकटन गोलभेंडा उत्पादन हुन्छ ।