विराटनगर,साउन २१
विराटनगरमा जारी स्वर्गीय साखिचन्द सुपरसिक्स इन्डोर अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा गोदावारी स्कुल र बालदेव स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गु्रप ‘ए’ अन्तर्गत गोदावारी स्कुल र एजेलिया स्कुलबीच आज भएको पहिलो खेलमा गोदावारी स्कुल २ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एजेलिया स्कुलले पूरा ओभर खेल्दै २३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको गोदावारीले ४ ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
त्यस्तै बालदेव दुत स्कुल र श्रीराम स्कुलबीच भएको दोस्रो खेलमा बालदेव ६ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बालदेवले २८ रन बनाएको थियो । बालदेव दुतले प्रस्तुत गरेको २९ रनको लक्ष्य पछ्याउने क्रममा श्रीराम स्कुल ५ ओभरमा २२ रन जोड्दै अलआउट भएको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि तीनओटा खेल हुनेछन् । भोलि बुढानिलकण्ठ स्कुल र हंसबाहिनी स्कुल, कान्तिपुर स्कुल र सिब्स स्कुल तथा राईजिङ नेपाल स्कुल र बाल उद्यान स्कुलबीच खेल हुने आयोजक समितिका सदस्य दिपक पासवानले जानकारी दिए ।
विराटनगरका क्रिकेटर अजय राजबंशीका बुवा स्व. साखिचंद राजबंशीको नाममा सुपरसिक्स इन्डोर अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो ।