विराटनगर,साउन २१
विद्युत चोरीमा संलग्न मोरङको जहदा गांउपालिकाका ९ जनालाई जरिवाना गराइएको छ । विद्युत पोलबाट अवैधानिक रुपले हुकिंगगरी विद्युत चोरी गरेको अभियोगमा पक्राउ गरिएका ९ जना सोमबार नियमानुसारको जरिवाना तिरेर रिहा भएका छन ।
विद्युत चुहावट नियन्त्रण गर्न खटिएको टोलीले आइतबार ती ब्यक्तिहरुलाई जहदा गांउपालिकाको वडा नम्बर ७ बाट पक्राउ गरेको थियो । पक्राउ गरिएका ब्यक्तिहरुमा स्थानीय विरेन्द्रकुमार खाती, फागु हस्दा, जगत हेमरन, संजयकुमार हेमरन र बर्स हेमरन रहेका छन ।
यसैगरी मोहन मरण्डी, दशनाथ मरण्डी र संजय साहलाई समेत बिद्युत चोरी गरेको अभियोगमा नियन्त्रणमा लिइएको थियो । पक्राउपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको थियो । पक्राउ परेका व्यक्तिहरुले अवैध रुपले बिजुलीको पोलबाट हुकिङ गरी घरमा बिजुली लगेका थिए ।
पक्राउ गरिएका ब्यक्तिहरुलाई नियमानुसारको जरिवाना गराइएको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।