२७ कात्तिक, गोरखा ।
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार साँझ गोरखाकाे लाप्राकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराइले धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ, संविधान त विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ । अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ, जनताले बुझ्ने भनेको जिल्ला हो ।’
गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंद समेत रहेका भट्टराईले यसका लागि आवाज उठाउन स्थानीयबासीलाई आग्रह गरे । ‘आफ्नो सक्दा आफ्नो हातमा नआएसम्म, जनप्रतिनिधि आफैंले नचुनेसम्म, तपाईंहरुले विकास र समृद्धि जतिसुकै चिच्याएर पनि पाउनुहुन्न,’ उनले भने ।
उनले कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने बताए । संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियान अन्तर्गत गोरखामा रहेका भट्टराई यतिबेला ग्रामिण भेगमा छन् ।
गत सोमबार घ्याल्चोकबाट अभियान सुरु गरेका भट्टराई गण्डकी, शहिद लखन, भिमसेन थापा, आरुघाट, धार्चे गाउँपालिकाको विभिन्न गाउँ पुगिसकेका छन् । ११ दिने सुज अभियान मंसिर ३ सम्म चल्ने जनाइएकाे छ ।
सडक नपुगेको ठाउँमा लौरो टेकेर भट्टराईले घरदैलो गरेका छन् । उनी किसानसँगै धान झाँट्ने, पार्टी नेता/कार्यकर्ता, स्थानीय तथा फरक पार्टीका नेता कार्यकर्तासँग भलाकुसारी गर्दै जिल्ला घुमिरहेका छन् ।