गाई चराउन गएका एकको बाघको आक्रमणबाट मृत्यु

गाई चराउन गएका एकको बाघको आक्रमणबाट मृत्यु

२८ कार्तिक, नेपालगञ्ज ।

बाँकेको नरैनापुरमा गाई चराउन जंगल गएका नरैनापुर गाउँपालिका– ४ पण्डितपूर्वाका लखन गडरियाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

उनको शरीर बाघले आधा खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।

मृतक गडरिया गाई चराउन गत २५ कात्तिकमा जंगल गएका थिए । उनी फर्केर नआएपछि खोजतलास गर्दा शनिवार राति बाघले आधा खाएको अवस्थामा जंगलमा शव फेला परेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । उनले गडरियाको शवनजिकै एउटा गाई समेत बाघले मारेर खाएको भेटिएको बताए ।

‘मृतक गडरियाको शवको पिठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । घटनास्थल नजिकै बाघले एउटा गाईसमेत मारेको छ । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन्’ प्रहरी निरिक्षक गौतमले भने ।

नरैनापुरको पर्यटकस्थल गोवद्र्धनधामदेखि पाँच किलोमिटर पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो । गाई चराउन जंगलमा एक्लै गएका गडरियाको बाघको आक्रमणमा परेर मृत्यु भएपछि स्थानीय प्रशाशनले स्थानीयलाई वनजंगल नजान आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.