छिन्ताङ हत्याकाण्डको जिम्मा अब कांग्रेसमा सर्‍यो : केपी ओली

छिन्ताङ हत्याकाण्डको जिम्मा अब कांग्रेसमा सर्‍यो : केपी ओली

२९ कात्तिक, धनकुटा ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपालभन्दा बरु सुनिलबहादुर थापा इमान्दार रहेको टिप्पणी गरेका छन् । धनकुटाको चर्चित छिन्ताङ हत्याकाण्डको ४३औं स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिका-३ पिप्लेडाँडामा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै नेता ओलीले यस्तो बताएका हुन्।

सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा सोझै कांग्रेसमा प्रवेश गरेको तर दाहाल-नेपाल आफ्नो दुइतिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री बन्नकै लागि शेरबहादुर देउवाको ढोका ढक्ढक्याउन हिँडेको उनले आरोप लगाए ।

तर ‘छिन्ताङ हत्याकाण्डको कलंक बोकेका सूर्यबहादुर थापा’को विरासतको आधारमा उनका छोरा सुनिल कांग्रेसमा प्रवेश गरेसँगै छिन्ताङ हत्याकाण्डको जिम्मा अब नेपाली कांग्रेसमा सरेको उनकाे भनाइ छ । उनले भने, ‘छिन्ताङ हत्याकाण्डको भागिदार अब कांग्रेस भएको छ । कांग्रेस नेतृत्वको सरकार राष्ट्रियता र जनताको पक्षमा सफल हुनबाट चुकेको छ ।’

नेता ओलीले माधव नेपाल र पुष्पकमल दाहाललाई कुहिएको आलुको संज्ञा दिँदै बोराबाट निकालिएपछि पार्टी सुद्धिकरण भएको दाबी गरे । उनले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.