२९ कात्तिक, धनकुटा ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपालभन्दा बरु सुनिलबहादुर थापा इमान्दार रहेको टिप्पणी गरेका छन् । धनकुटाको चर्चित छिन्ताङ हत्याकाण्डको ४३औं स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिका-३ पिप्लेडाँडामा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै नेता ओलीले यस्तो बताएका हुन्।
सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा सोझै कांग्रेसमा प्रवेश गरेको तर दाहाल-नेपाल आफ्नो दुइतिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री बन्नकै लागि शेरबहादुर देउवाको ढोका ढक्ढक्याउन हिँडेको उनले आरोप लगाए ।
तर ‘छिन्ताङ हत्याकाण्डको कलंक बोकेका सूर्यबहादुर थापा’को विरासतको आधारमा उनका छोरा सुनिल कांग्रेसमा प्रवेश गरेसँगै छिन्ताङ हत्याकाण्डको जिम्मा अब नेपाली कांग्रेसमा सरेको उनकाे भनाइ छ । उनले भने, ‘छिन्ताङ हत्याकाण्डको भागिदार अब कांग्रेस भएको छ । कांग्रेस नेतृत्वको सरकार राष्ट्रियता र जनताको पक्षमा सफल हुनबाट चुकेको छ ।’
नेता ओलीले माधव नेपाल र पुष्पकमल दाहाललाई कुहिएको आलुको संज्ञा दिँदै बोराबाट निकालिएपछि पार्टी सुद्धिकरण भएको दाबी गरे । उनले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।