३० कात्तिक, काठमाडाैँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए।
उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए । उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे ।
उनले भने – ‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ । हामी नेपालभरी नै बिस्तार बिस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाइ । त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टीभ दिन तयार छौँ । काठमाडौंमा कमसेकम व्याट्रीबाट गाडीहरु सञ्चालन गरौँ । घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाउ । भोली तराइ, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ । उद्योगपतिहरुलाई के भन्न चाहान्छु भने, तपाईहरु सुरु गर्नुस् । सरकारले इन्सेन्टीभ दिन्छ । अघि हाम्रो मन्त्रीजीले भन्नुभयो खल्तीमा लाइसेन्स लिएको छ, काम गर्दैनन् । त्यो पनि भएन नि । काम पनि गर्नुप¥यो । तपाईहरुलाई हामी सारा सहुलियत दिन तयार छौँ । तपाईहरु व्याट्रीमा जानुस् । नेपाललाई नमुना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ ।’